नेपाल फर्किनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकहरुले विवरण दर्ता गराउने सम्बन्धी अत्यन्त जरुरी सूचना !

नेपाल फर्किनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकहरुले नाम दर्ता गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना

कोभिड-19 विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश फर्किनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकहरुलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी नेपाल सरकार(मन्त्रीपरिषद्)को मिति २०७७/२/१२ को निर्णयानुसार यस राजदूतावासको कार्यक्षेत्रभित्र पर्ने अष्ट्रिया, क्रोएसिया, स्लोभेनिया, ग्रीस, बोस्निया एण्ड हर्जगोभिना, अल्बानिया, नर्थ मेसेडोनिया, मोन्टेनेग्रो र जर्जियामा बसोबास गरिरहनुभएका र छिट्टै नेपाल फर्किनुपर्ने अवस्थामा रहनुभएका नेपाली नागरिकहरुलाई निम्नानुसारको विवरण यस राजदूतावासमा यथाशीघ्र उपलब्ध गराइदिनुहुन अनुरोध छ ।

 

सि.नं नाम राहदानी नं स्थायी ठेगाना नेपाल फर्केपछि बस्ने ठेगाना प्रदेशको नाम सहित नेपालको टेलिफोन सम्पर्क आफ्नै खर्चमा होटल क्वारेन्टिन वा स्थानीय तहले व्यवस्थापन गरेकोमा बस्ने हो खुलाउने नेपाल फर्किनुपर्नाको कारण हाल बसोबास गरिररहेको मुलुक कोभिड-१९ जाँच (PCR/RDT/others) कुन हो खुलाउने सम्पर्क नं

उल्लेखित विवरण तोकिएको ढाँचामा यस राजदूतावासको इमेल ठेगाना mission@nepalmission.at मा पठाउनु पर्नेछ । त्यस्तै राजदूतावासको वेबसाइट https://at.nepalembassy.gov.np/registration-form-for-nepalese-to-return-to-nepal/ मा रहेको फाराम भरेर समेत आफ्नो विवरण पठाउन सकिनेछ ।

पुनश्चः

१. हवाई उडान गर्नुअघि कोभिड संक्रमण नभएको स्वास्थ्य परीक्षण (PCR/RDT/others) को प्रमाण अनिवार्य रुपमा  साथमा राख्नुपर्नेछ ।

२. नेपाल फर्किने हवाई उडान तथा यातायात खर्चका साथै होटल क्वारेन्टाइनमा बस्ने भएमा सो खर्च समेत व्यक्ति  स्वयंले व्यहोर्नुपर्नेछ ।

३. नेपाल प्रवेश गरेका व्यक्तिले स्थानीय तहको क्वारेन्टिन तथा होटल क्वारेन्टिनमा चौध दिन बस्नुपर्नेछ र त्यसपछि   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेबमोजिम  स्वास्थ्य परीक्षण भएपछि थप सात दिन होम क्वारेन्टिनमा बस्नुपर्नेछ ।

४. सजायँबाट आममाफी पाएका, डिटेन्सन सेन्टरमा रहेका र हाल नेपाल आउन अनुमति प्राप्त भएका, जुनसुकै कारणले    बहिर्गमन भिसामा रहेका, आफन्तको मृत्यु भई काजकिरियाका लागि नेपाल आउनुपर्ने, श्रम करार अवधि समाप्त   भएका वा रोजगारी गुमाएका, कोभिड बाहेक अन्य कारणबाट गम्भीर स्वास्थ्य अवस्था भएका, सुत्केरी तथा गर्भवती महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका, सरकारी सेवामा रही अध्ययन वा तालीममा गएका, अध्ययन    समाप्त   भएका विद्यार्थी, नेपाल आउनुपर्ने अवस्थामा रहेका अध्ययनरत विद्यार्थी, पारिवारिक पुनर्मिलनका लागि गएका, कम्पनीबाट      रोजगारी सहित विदा सुविधा पाएका, अन्तराष्ट्रिय संघ सस्थामा कार्यरत रहेका नेपाल आउनुपर्ने अवस्थाका र पर्यटक तथा        व्यापारिक भिसामा गएका नेपाली नागरिकहरुलाई माथि उल्लेखित प्राथमिकता बमोजिम स्वेदेश आउने व्यवस्था   मिलाइनेछ ।

 

नेपाली राजदूतावास, भियना

०२ जुन २०२०